![]() |
भक्तपुर, २० असोज - महिला हिंसाविरुद्ध देशव्यापी अभियान चलिरहेका बेला भक्तपुरमा एक महिलामाथि पूर्वपतिले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।
अदालतबाटै सम्बन्ध विच्छेदको फैसला भइसकेकी श्रीमतीमाथि उनकै श्रीमानले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। भक्तपुर नपा ४ बस्ने ४२ वर्षीय नारायण आचार्यले सम्बन्ध बिच्छेद भएकी भक्तपुर नपा १० की सविका त्वानावासुमाथि खुकुरी प्रहार गरेका छन्।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माका अनुसार आचार्यले मंगलबार साँझ भक्तपुर नपा ४ कमलविनायकस्थित हार्डवेयर पसलमा बसिरहेकी त्वानाबासुलाई एक्कासी खुकुरी प्रहार गरेका हुन्।
पूर्वपतिको खुकुरी प्रहारबाट घाइते बनेकी त्वानावासुको टाउको, ढाड, पाखुरा, कुमलगायतमा गम्भीर चोट लागेका शर्माले जानकारी दिए। घाइते त्वानावासुको ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
उनको अवस्था सामान्य रहेको जगाती वृत्तले जनाएको छ। खुकुरी प्रहार गर्ने आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अदालतबाट सम्बन्ध विच्छेदको फैसलापछि सम्पत्ति बाँडफाँट चित्त नबुझेपछि आचार्यले रिस साँध्न खुकुरी प्रहार गरेका थिए।
अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला कार्यान्वयन गर्ने क्रममा भएको सम्पत्ति बाँडफाँटमा चित्त नबुझेपछि रिस साँध्न पूर्वपति आचार्यले त्वानावासुमाथि खुकुरी प्रहार गरेको देखिएको छ, प्रनाउ शर्माले भने। अन्नपूर्ण पोस्टबाट
![]() |

0 comments:
Post a Comment